आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। यस्तै, सोमबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

Facebook Comments Box