आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा आराधना गरी दसैँ बिदा गरिँदै
काठमाडौँ । आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा आराधना गरी बडादसैँलाई बिदा गरिँदै छ। आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पूर्णिमाका दिन समाप्त हुन्छ। कोजाग्रत पूर्णिमाको अवसरमा आज साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरि जाग्राम बस्ने परम्परा छ। रातभरि जाग्राम बसेर महालक्ष्मीको पूजा गरे घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
आजकै दिन १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ समाप्त हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म दसैँको टीका र जमरा प्रसादका रूपमा लगाउन सकिनेछ। आज बिहान दसैँघरमा रहेका फूलप्रसाद र जमराका अवशेष नजिकका नदी, तलाउ तथा पोखरीमा लगेर विसर्जन गर्ने चलन छ।
कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यसैगरी, भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुन्छ। आजदेखि नै घरघरमा तुलसी पूजा गर्ने चलन पनि छ। कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने कात्तिक स्नानलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

