बालिका मृत्यु प्रकरणः दोषीलाई कडा कारबाही गर्न माग
कर्णाली, २८ फागुन – वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरिएको आरोपित घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ ।
उक्त विज्ञप्तिमा महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा स्वीकार्य नहुने उल्लेख गर्दै सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता आवश्यक रहेको जनाइएको छ । साथै यस्ता घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउन आग्रह गरिएको छ ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली तथा सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक तथा मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन हुने तथा दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ परेकामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारजनले हालसम्म बालिकाको शव बुझेका छैनन् । शवपरीक्षणका लागि भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर परीक्षण गरेको थियो ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बिहान करिब ९ बजे स्थानीयले उनलाई जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

