भूमिगत विद्युत् लाइनको कामका लागि उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने
काठमाडौँ । काठमाडौँ उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरी भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक काम गरिनेछ ।
असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी र १८ गते गर्जुधारा क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै, असोज २० गते पुनः मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरि आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ । प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् कटौती नगरिने जनाएको छ ।
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माण सुरु गरिएको थियो ।दोस्रो चरणमा काठमाडौँका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा भूमिगत, सुदृढ र स्वचालित विद्युत् वितरण प्रणाली विकास गर्ने योजना छ ।
कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका विद्युत् लाइन भूमिगत गर्नुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवाका तारलाई भूमिगत गरेपछि सडक तथा सहरी क्षेत्रमा देखिने अव्यवस्थित तारको समस्या कम हुने र काठमाडौँ उपत्यकाको सहरी सौन्दर्यमा समेत सुधार आउने प्राधिकरणले जनाएको छ ।

