प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
काठमाडौं, १५ फागुन – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोग नेपाल ले जनाएको छ।
आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ले मतपत्र, मतपेटिका तथा आवश्यक निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेको जानकारी दिनुभयो।
मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहअन्तर्गत रहेका छ हजार ७४३ वटै वडामा सञ्चालन भइरहेको छ। स्वयम्सेवक परिचालनमार्फत फागुन ३ गतेदेखि सुरु भएको उक्त कार्यक्रम फागुन १७ गतेसम्म जारी रहने आयोगले जनाएको छ।
त्यसैगरी मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन्। मतदान केन्द्रका रूपमा प्रयोग हुने विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयलगायतका भौतिक संरचना उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग आयोगले समन्वय गरिसकेको छ।
निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन, मतदान प्रक्रिया व्यवस्थापन तथा आवश्यक समन्वयका विषयमा आयोगले आवश्यक निर्णय गरिसकेको जनाएको छ।

