तीन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा शंकरमाली निर्माण सेवा, मान शाही निर्माण सेवा र कश्यप निर्माण सेवा एन्ड सप्लायर्सलाई कालोसूचीमा राखिएको हो ।

दानबहादुर कार्की मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा र सूर्यबहादुर शाही मुख्य व्यक्ति रहेको मान शाही निर्माण सेवालाई तीन–तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, माधव घिमिरे र हरिप्रसाद घिमिरे मुख्य व्यक्ति रहेका कश्यप निर्माण सेवा एन्ड सप्लायर्सलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज १४ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ । कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । जिम्मा लिएको काम सन्तोषजनक रूपमा सम्पन्न नगरेको तथा पटक–पटक म्याद थप र ताकेता गर्दा पनि काममा प्रगति नभएपछि कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

Facebook Comments Box