झापामा मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान

 झापा । झापामा जापानिज इन्सेफलाइटिस अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ ।

जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ । झापामा जेई संक्रमण र मृत्युदर बढ्दै गएपछि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लामा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएकामध्ये कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको छ ।

गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी भएका तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउन नहुने स्वास्थ्य कार्यालयले जनाएको छ । ज्वरो आएको अवस्थामा भने ज्वरो निको भएपछि खोप लगाउन सकिनेछ । जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । स्वास्थ्य कार्यालयले लक्षित समूहका सबै नागरिकलाई अभियानमा सहभागी भई खोप लगाउन आग्रह गरेको छ ।

Facebook Comments Box