प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’
भोजपुर, १८ भदौ – भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका पूर्वाधार निर्माण तथा वृक्षरोपण गरिएपछि यहाँ पर्यटकको आगमन बढेको हो ।
समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक महत्वका कारण पूजाआजाका लागि पनि भक्तजन यहाँ पुग्ने गरेका छन् । भोजपुर–लेगुवा सडकखण्डबाट नजिकै र सदरमुकामबाट समेत सहज पहुँचमा रहेकाले पर्यटकको चहलपहल बढेको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । पर्यटक घुमघामसँगै स्थानीय परिकारको स्वाद लिनसमेत यहाँ पुग्ने गरेका छन् ।
स्थानीय लालबहादुर तामाङका अनुसार अरुण डाँडाको विकाससँगै घुम्न तथा पूजाआजा गर्न आउनेको सङ्ख्या बढेको छ । पर्यटकको आगमनले स्थानीयको आयआर्जनमा समेत टेवा पुग्न थालेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष किरण राईले धार्मिक तथा पर्यटकीय महत्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । अरुण डाँडालाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो । थप प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले अघि बढाएको छ ।

