भोटेकोसी बाढीमा मृत्यु हुनेको सङ्ख्या एक हजार १२७ पुग्यो

काठमाडौँ, १७ भदौ – रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बुधबार बिहान ५ बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौ जना रहेका छन् ।

फेला परेका शवमध्ये एक हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ शव आफन्तलाई बुझाइएको छ । पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ प्रहरी परिचालन गरिएको छ । प्रहरीले बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिसकेको जनाएको छ ।

बेपत्ता चार हजार ८५८ जनाको खोजी जारी रहेको छ । प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी र विभिन्न निकायसँगको समन्वयमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ । यसैगरी, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box