भोटेकोशी बाढीबारे भ्रामक र बीभत्स सामग्री सम्प्रेषण गर्ने २१ माध्यम कारबाहीमा

काठमाडौँ, १८ भदौ – भोटेकोशी बाढीसम्बन्धी पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गरेको पाइएपछि प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई कारबाही गरेको छ । काउन्सिलले बाढीसम्बन्धी २४ वटा सामग्री अनुगमन गर्दा २१ वटा पत्रकार आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । अनुगमन गरिएका सामग्रीमध्ये १४ वटा दर्ता भएका सञ्चारमाध्यम र १० वटा दर्ता नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित थिए ।

काउन्सिलका अनुसार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने माध्यमलाई फोन, म्यासेन्जर तथा पत्रमार्फत ध्यानाकर्षण गराउँदै त्यस्ता सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिइएको छ । अधिकांशले निर्देशनपछि सामग्री हटाएको वा सच्याएको काउन्सिलले जनाएको छ ।

अनुगमनका क्रममा अन्य देशका पुराना तथा असम्बन्धित भिडियो नेपालमा भएको भोटेकोशी बाढी र उद्धारसँग जोडेर प्रस्तुत गरिएको पाइएको छ । नेपाली सेनाले रसुवामा उद्धार गरिरहेको, चिनियाँ टोलीले सुरुङमा फसेकाको उद्धार गरेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै गलत भिडियो सम्प्रेषण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ ।

त्यस्तै, बाढीमा बगेका शव तथा शवका टुक्रासम्बन्धी बीभत्स दृश्यसमेत विभिन्न माध्यमबाट प्रसारण गरिएको पाइएको छ । यस्ता सामग्रीले पीडित परिवार तथा सर्वसाधारणमा थप मानसिक पीडा र त्रास सिर्जना गर्न सक्ने भन्दै काउन्सिलले सामग्री हटाउन वा आवश्यक सम्पादन गर्न निर्देशन दिएको छ ।

अनलाइनखबरसहित फेवा खबर, ई–मधेस, दृष्टि सञ्चार, पुलेसो टिभी, इच्छाकामना एफएम चितवन, सेतो खबर, स्टेट ७ खबर, द रिम अनलाइनलगायत माध्यमका सामग्रीसमेत आचारसंहिता प्रतिकूल रहेको काउन्सिलले जनाएको छ । दर्ता नभएका सामाजिक सञ्जाल पेजबाट पनि गलत भिडियो, बीभत्स दृश्य तथा सामाजिक सद्भाव भड्काउने खालका सामग्री सम्प्रेषण भएको काउन्सिलको अनुगमनमा देखिएको छ ।

विपद्का समयमा उद्धार, मृत्यु, बेपत्ता तथा पीडितसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र संवेदनशीलतामा विशेष ध्यान दिन काउन्सिलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । भ्रामक शीर्षक, पुराना वा असम्बन्धित भिडियो र संवेदनशील दृश्यको प्रयोगले विपद्को अवस्थामा थप भ्रम र त्रास सिर्जना गर्न सक्ने काउन्सिलले जनाएको छ ।

Facebook Comments Box