स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन
म्याग्दी, १७ भदौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड हिमतालको आकार बढेको देखिए पनि स्थलगत अध्ययनबिना यसलाई जोखिमयुक्त भन्न नमिल्ने स्थानीय अभियन्ताले बताएका छन् । स्थानीय उद्धारकर्मी तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा पाँचवटा छुट्टाछुट्टै कुण्ड देखिन्थे । अहिले भने ती कुण्ड एउटै तालजस्तो देखिन थालेका छन् ।
पर्यापर्यटन अध्येता घनश्याम खड्काले एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) को तथ्याङ्क उद्धृत गर्दै सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल सन् २०२५ मा ०.३८८ वर्गकिलोमिटर पुगेको बताउनुभयो । उहाँका अनुसार १२ वर्षमा तालको क्षेत्रफल ८४६ प्रतिशतले विस्तार भएको छ ।
तर, मौरिस हर्जोग पदमार्ग पहिचानमा संलग्न अभियन्ता तेज गुरुङले तालको क्षेत्रफल बढेको नभई गहिराइ बढेको दाबी गर्नुभएको छ । “स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन,” उहाँले भन्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भने जलवायु परिवर्तनको असर देखिन थालेकाले पञ्चकुण्डको जोखिम अवस्थाबारे अध्ययन आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकासँग आवश्यक स्रोतसाधन र विज्ञ जनशक्ति नभएकाले सङ्घीय सरकारसँग अध्ययनका लागि अनुरोध गर्ने तयारी रहेको उहाँको भनाइ छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार पञ्चकुण्डको विस्तृत भौगोलिक जोखिम मूल्याङ्कन हालसम्म भएको छैन । तालको गहिराइ, मोरिन बाँधको अवस्था तथा आसपासको भूगोल अध्ययन गर्न आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
पञ्चकुण्डबाट बग्ने मिस्त्रीखोला नारच्याङ हुँदै कालीगण्डकी नदीमा मिसिन्छ । उक्त खोलाको पानी प्रयोग गरी १५२ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण भएका छन् । यसैबीच, गण्डकी प्रदेश सरकारले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे अध्ययन, जोखिम क्षेत्र पहिचान तथा प्रविधिमा आधारित पूर्वानुमान प्रणाली आवश्यक रहेको जनाएको छ । प्रदेशले यस वर्ष कालीगण्डकी बेसिनमा जलवायु संवाद कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ ।

