महाकालीको बहाब नघटेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारी रोक

धनगढी, १७ भदौ – महाकाली नदीमा पानीको बहाब खतराको तहभन्दा माथि रहेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा लगाइएको रोक बुधबार पनि कायमै छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार महाकालीमा पानीको बहाब दुई लाख ९७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको थियो । बुधबार बिहान पानीको बहाब घटेर दुई लाख ५५ हजार २८४ क्युसेकमा झरे पनि अझै खतराको तहभन्दा तल नझरेकाले आवागमन खुलाइएको छैन ।

डीएसपी टेकबहादुर रावतका अनुसार महाकालीमा पानीको बहाब एक लाख क्युसेकभन्दा माथि पुगेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन रोक्ने गरिएको छ । पानीको बहाब घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा थप वर्षा नभएमा बुधबार दिउँसोसम्म ब्यारेज पूर्ण रूपमा खुल्नसक्ने प्रहरीले जनाएको छ ।

Facebook Comments Box