पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ । अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्म काठमाडौँ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लेदो थुपारेपछि सडक अवरुद्ध भएको थियो। बाढीले थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो।
उहाँका अनुसार धादिङको बैरेनी क्षेत्रमा अझै केही लेदो पन्छाउन बाँकी रहेकाले हाल सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको हो। राजमार्गमा बाढीका कारण अलपत्र परेका सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।
सडकमा सवारीसाधनको चाप रहेकाले समस्या देखिएका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरी यातायात व्यवस्थापन तथा सहजीकरण भइरहेको छ। बैरेनी क्षेत्रमा बाँकी रहेको लेदो केही घण्टामै हटाउन सकिने भए पनि सवारी सञ्चालनसँगै लेदो पन्छाउँदा काममा कठिनाइ हुने भएकाले सावधानीपूर्वक काम भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गलाई सकेसम्म छिटो दुईतर्फी सञ्चालनमा ल्याउने गरी लेदो हटाउने काम भइरहेको छ।

