बाढी प्रभावित स्थानीय तहलाई सरकारद्वारा पौने सात करोड रुपैयाँ निकासा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित स्थानीय तहका लागि सरकारले पौने सात करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको हो।

प्राधिकरणका अनुसार निकासा गरिएको रकम प्रभावित स्थानीय तहले आवश्यकता र क्षतिको आधारमा राहत तथा विपद् व्यवस्थापनका काममा खर्च गर्नेछन्। प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकमबाट उक्त सहायता उपलब्ध गराउने निर्णय गरेको थियो।

प्राधिकरणले स्थानीय तहलाई भएको क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित गरी वर्गीकरण गरेर सोहीअनुसार अनुदान उपलब्ध गराउने जनाएको छ। निकासा गरिएको रकम रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिकामा वितरण गरिनेछ।

यस्तै, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि क्षतिको आधारमा अनुदान उपलब्ध गराइनेछ। प्राधिकरणका अनुसार उल्लेखित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतका रूपमा रकम उपलब्ध गराइनेछ।

उक्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने र खर्च भएको बराबर रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना गर्ने निर्णयसमेत गरिएको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

Facebook Comments Box