विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा, पूर्व–पश्चिम यातायात प्रभावित
काठमाडौं, ३ असार — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ। सोमबार रातिको अविरल वर्षापछि खोलामा पानीको बहाव बढ्दा डाइभर्सन बगाएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता, डीएसपी मधु नेपालका अनुसार डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकोले सो मार्ग हुँदै सवारी सञ्चालन असम्भव भएको छ। यात्रुबाहक बस तथा साना गाडीहरू अहिले वैकल्पिक मार्गमार्फत — होङ्सी सिमेन्टको गेट, सर्दी गाउँ हुँदै दुम्किबास बजार — गइरहेका छन्।
तर, वैकल्पिक मार्ग पनि सहज छैन। दुम्किबास–दाउन्ने खण्डको उकालो चिप्लो र हिलाम्मे बनेकोले गाडीहरु त्यहाँ फस्ने र जाममा परिरहेका छन्। त्यस क्षेत्रमा दुई सयभन्दा बढी सवारी साधन जाममा परेका छन्। प्रहरीका अनुसार गाडीहरू अरुणखोला, दुम्किबास र होङ्सी गेटतर्फ रोकिएका छन्।
दाउन्ने खण्डमा निर्माणाधीन बाटो भएकाले सवारी पास गराउन कठिन भइरहेको छ। प्रहरीले स्काभेटरको सहयोगमा बाटो सम्याउँदै गाडी चलाउने प्रयास गरिरहेको जनाएको छ। घण्टौँदेखि अलपत्र परेका यात्रु, चालक र सहचालकहरू समस्यामा परेका छन्। स्थिति सामान्य बनाउन स्थानीय प्रशासन, ट्राफिक प्रहरी र निर्माण टोली प्रयासरत छन्।

