नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
काठमाडौँ, २९ साउन – परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको दोहोर्याउँदै नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक सम्मान, समानता र सहकार्यमा आधारित रहेको बताउनुभयो ।
सचिव राईका अनुसार सात दशकको अवधिमा नेपाल–चीन सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीमा विस्तार भएको छ । उच्चस्तरीय भ्रमण तथा विभिन्न तहका आदानप्रदानले द्विपक्षीय सम्बन्धका सबै पक्षलाई थप गतिशील बनाएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले व्यापार, लगानी, पूर्वाधार, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा पछिल्ला वर्षमा उल्लेख्य विस्तार भएको बताउँदै ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालको शीघ्र कार्यान्वयनलाई नेपालले प्राथमिकता दिएको जानकारी दिनुभयो । त्यसैगरी, चिनियाँ राजदूत चाङ माओमिङले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र चीनले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको बताउनुभयो । उहाँले दुवै देश असल छिमेकी, मित्र र साझेदारका रूपमा सुखदुःखमा सँगै उभिँदै आएको उल्लेख गर्नुभयो ।
नेपालमा नयाँ सरकार गठन भएयता दुई देशबीच राजनीतिक पारस्परिक विश्वास थप गहिरिएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अघि बढिरहेको राजदूत माओमिङले बताउनुभयो । व्यापार, अर्थतन्त्र, पूर्वाधार, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार भइरहेको उहाँको भनाइ थियो ।
राजदूत माओमिङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको स्मरण गर्नुभयो । चीन नेपालसँग पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्धलाई थप सुदृढ बनाउन, भएका समझदारी कार्यान्वयन गर्न तथा साझा भविष्यको समुदाय निर्माणका लागि सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम स्थान हासिल गर्दै रु ५० हजार पुरस्कार प्राप्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।

