धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

सुनसरी, २९ साउन – धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।

कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटअनुसार नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयका लागि रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ । बजेटका लागि आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरकारको अनुदानबाट रु नौ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट रु ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट रु एक करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।

सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु ९९ करोड ५० लाख विनियोजन गरिएको छ । यसअन्तर्गत खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि रु चार करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि रु एक करोड र सभागृह निर्माणका लागि रु दुई करोड छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रमा रु १२ करोड ४५ लाख विनियोजन गरिएको छ । यसमा सशर्त अनुदानबाट रु नौ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि रु दुई करोड र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यका लागि रु ५० लाख समावेश गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ । उक्त बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गर्नुका साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रमसमेत समेटिएको छ ।

सामाजिक विकासतर्फ आन्तरिक स्रोतबाट रु १० करोड छुट्याइएको छ । सुकुमवासी व्यवस्थापनका लागि रु ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोषका लागि रु २० लाख, सडक मानव व्यवस्थापन तथा बाँदर नियन्त्रणका लागि रु १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि रु १० लाख र लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रमका लागि रु एक करोड पाँच लाख विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ रु छ करोड ८० लाख छुट्याइएको छ । त्यसको ठूलो हिस्सा सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि रु पाँच करोड विनियोजन गरिएको छ । वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ९५ लाख ७५ हजार विनियोजन गरिएकोमा विपद् व्यवस्थापन कोषका लागि रु दुई करोड छुट्याइएको छ ।

कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट रु २० लाख विनियोजन गरिएको छ । यसैगरी, चतरा–कोशी नदीबाट धरानमा खानेपानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि रु तीन करोड ११ लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले जानकारी दिनुभयो।

Facebook Comments Box