राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक : पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ, २६ पुस – पूर्व राजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको बताएका छन् । ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको बताउँदै पुनरावलोकनको औचित्य औँल्याएका हुन् ।

शाहले भनेका छन्, ’राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौँ। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन ।

राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आ-आफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौँ ।’

Facebook Comments Box