देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, २६ साउन – देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।

कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।

कर्णालीको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।

राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

Facebook Comments Box