बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन
म्याग्दी, १० फागुन – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोबागाउँमा निर्माण सम्पन्न भएको पालिकास्तरीय अस्पताल चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा करोडौँ रुपैयाँ लागतमा बनेको भवन अलपत्र अवस्थामा छ।
विसं २०७८ मा निर्माण सम्पन्न भएको पाँच शय्या क्षमताको उक्त अस्पताल बाहिरबाट आकर्षक देखिए पनि भित्र उपकरण र आवश्यक पूर्वाधार अभावका कारण प्रयोगविहीन बनेको छ। अस्पताल भवन गाउँदेखि करिब १५–२० मिनेटको दूरीमा अपायक स्थानमा रहेको छ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरूप स्थानीयवासीले जग्गा दान गरेर निर्माण गरिएको भवनमा हालसम्म न आवश्यक उपकरण जडान भएका छन्, न चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएका छन्।
वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार तीनै तहका सरकारबाट आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनमा ध्यान नपुग्दा अस्पताल सञ्चालनमा आउन नसकेको हो। उनका अनुसार १२ रोपनी सात आना दुई दाम क्षेत्रफलमा फैलिएको अस्पताल भवन रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा निर्माण गरेको हो।
अस्पताल निर्माणका लागि स्थानीय सात जनाले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। अपाङ्गमैत्री संरचनासहित बनेको अस्पतालमा आकस्मिक कक्ष, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, प्रयोगशाला, प्रशासनिक कक्ष, औषधि भण्डारण कक्ष, उपचार कक्ष र स्वास्थ्यकर्मी आवास गरी ३५ कोठा रहेका छन्।
अस्पताल सञ्चालनमा नआउँदा सामान्य बिरामी पर्दासमेत उपचारका लागि सदरमुकाम बेनी जानुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ। गाउँपालिका अध्यक्ष भरत पुनले प्रदेश र सङ्घीय सरकारबाट आवश्यक स्रोतसहित जनशक्ति व्यवस्थापन हुन नसक्दा भवन उपयोगविहीन बनेको बताउनुभयो।

