घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता, एक घाइते

म्याग्दी, २६ साउन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । आज बिहान विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिएको हो ।

पहिरोमा परी विद्युत्गृहका कामदार अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका छन् । गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको छ । घाइते विकलाई उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण म्याग्दी हाइड्रोपावरले प्रवर्द्धन गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा समेत क्षति पुगेको छ । उपकरणमा क्षति पुगेपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

Facebook Comments Box