शक्तिशाली टाइफुन डल्फिन चीनको पूर्वी तटमा, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

साङ्घाई.  २५ साउनः – शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ पूर्वी चीनको तटमा ठोक्किएपछि साङ्घाईसहित विभिन्न क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम पूर्वानुमान अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आइतबार साँझ साढे ५ बजे जिजियाङ प्रान्तको युहुआनमा प्रतिघण्टा १५० किलोमिटरको गतिमा आँधी तटमा ठोक्किएको थियो । त्यसको करिब एक घण्टापछि आँधी दोस्रोपटक वेन्झाउ सहरमा पुगेको थियो ।

आँधीका कारण पूर्वी चीनको यातायात सेवा प्रभावित भएको छ । साङ्घाईमा मात्रै एक हजार चार सयभन्दा बढी उडान रद्द गरिएको छ । चिनियाँ अधिकारीहरूले यसअघि टाइफुन डल्फिनलाई लिएर उच्चतम तहको रातो चेतावनी जारी गरेका थिए । सोमबार बिहान भने आँधीको चेतावनी स्तर घटाएर ट्रपिकल स्टर्ममा राखिएको छ ।

आँधी अहिले थप भित्री भागतर्फ अघि बढिरहेको छ । अधिकारीहरूले बुधबारसम्म ठूलो वर्षा, भीषण बाढी र पहिरोको जोखिम कायमै रहने चेतावनी दिएका छन् । सोमबार सान्डोङ, हेनान, हुबेई, एन्हुई, जियाङ्सु र जिजियाङ प्रान्त तथा साङ्घाई सहरमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । स्थानीय सरकारले नागरिकलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेका छन् । प्रतिकूल मौसमका कारण डिज्नील्यान्ड र लेगोल्याण्डका केही भाग तथा साङ्घाईको द बन्डका अवलोकनस्थलसहित प्रमुख पर्यटकीय क्षेत्रहरू बन्द गरिएको जनाइएको छ ।

Facebook Comments Box