देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
काठमाडौँ, २५ साउन – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीले सडक कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ६ बजेसम्म काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा बिहान ४ बजे लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी–२ कोदारीको इकु पहिरो तथा लिपिङमा सडक भासिएपछि पनि यातायात प्रभावित भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा बिहान ५ बजे पहिरो खस्दा अरनिको राजमार्गको अर्को खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ । प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउनसक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

