प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

काठमाडौँ, २५ साउन – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची छ ।

यसैबीच, आज विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ । पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बस्दैछ । सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका विषयमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

Facebook Comments Box