सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
सोलुखुम्बु, २५ साउन – निरन्तर वर्षासँगै खसेको पहिरोका कारण सोलुखुम्बुका दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् । सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ का वडा कार्यालय भवन पहिरोको जोखिममा परेका हुन् । पहिरोका कारण वडा कार्यालयसँगै आसपासका बस्ती र अन्य संरचनासमेत जोखिममा परेका छन् ।
सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा वडा कार्यालय भवनभन्दा माथिबाट पहिरो खस्दा कार्यालयको शौचालय बगाएको छ । नजिकै रहेको प्रशासनिक भवन र स्वास्थ्यचौकीसमेत जोखिममा रहेको वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले बताउनुभएको छ । पहिरो ठूलो भएकाले तत्काल रोकथाम गर्न कठिन रहेको उहाँको भनाइ छ ।
यस्तै, सोताङ गाउँपालिका–४ को वडा कार्यालय परिसरको पर्खाल पहिरोले बगाएको छ । वडा कार्यालय भवन र कर्मचारी आवाससमेत जोखिममा परेका छन् । पहिरो बढ्दै गए कुनै पनि बेला वडा कार्यालय भवनसमेत प्रभावित हुनसक्ने वडाध्यक्ष दीपबहादुर राईले बताउनुभएको छ । सोताङ–४ मा वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन् ।
यसैगरी, थुलुङ दूधकोशी गाउँपालिका–९ मा पाँच घरपरिवार र लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा एक घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । उनीहरूलाई जोखिमयुक्त घरबाट नजिकैका विद्यालय भवनमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म ११ घरपरिवार विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण ग्रामीण सडक, सरकारी संरचना र बस्ती आसपास पहिरोको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले जोखिमयुक्त क्षेत्रको निगरानी गरिरहेको जनाइएको छ । वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

