वीरका आवासीय चिकित्सकलाई २४ घन्टे ड्युटी सकेपछि बिदा दिने

काठमाडौं, १ असार – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) को ड्युटी व्यवस्थामा परिवर्तन गरेको छ।

सोमबार न्याम्सका सहायक डिन डा. विकासविक्रम सिंह अधिकारीले परिपत्र जारी गर्दै २४ घण्टे ड्युटी पूरा गरेका आवासीय चिकित्सकलाई बिहानको राउण्ड सकिएपछि अनिवार्य रूपमा बिदा दिन निर्देशन दिएका हुन्।

यसअघि न्याम्समा अध्ययनरत आवासीय चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने व्यवस्था थियो। लामो कार्यसमयका कारण उनीहरू शारीरिक तथा मानसिक दबाबमा पर्ने गरेको गुनासो उठ्दै आएको थियो।

नयाँ व्यवस्थासँगै रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ कम हुने अपेक्षा गरिएको छ। डा. अधिकारीले एमडी, एमएस, एमडिएस, डिएम तथा एमसीएच कार्यक्रमका संयोजकहरूलाई पठाएको परिपत्रमा २४ घण्टे ड्युटीपछि बिहानको राउण्ड सम्पन्न गरेर चिकित्सकलाई बिदा दिन अनुरोध गरिएको छ।

यसअघि पनि नेपाल मेडिकल काउन्सिलले आवासीय चिकित्सकमाथि अत्यधिक कार्यबोझ रहेको भन्दै मेडिकल कलेज, प्रतिष्ठान तथा विश्वविद्यालयहरूलाई पर्याप्त आरामको व्यवस्था गर्न निर्देशन दिएको थियो।

Facebook Comments Box