देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशभरको मौसममा बदली भएको छ। बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा तथा कोशी र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका अन्य हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपात तथा पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments Box