आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

काठमाडौं,  ३ जेठ – आज विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विषयमा जनचेतना फैलाउने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।

डिजिटल विभाजन भन्नाले सूचना तथा सञ्चार प्रविधिमा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाइन्छ । इन्टरनेट सेवा, कम्प्युटर, स्मार्टफोन, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरमा रहेको भिन्नता नै डिजिटल विभाजनको मुख्य आधार हो ।

विशेषगरी शहर क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रूपमा इन्टरनेट तथा अनलाइन सेवा उपयोग गर्न सक्ने अवस्था रहे पनि दुर्गम क्षेत्रका नागरिक अझै त्यस्ता सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजनको उदाहरणका रूपमा लिइन्छ ।विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको पूर्णाधिकार सम्मेलनले प्रस्ताव नम्बर ४६ मार्फत यस दिवसलाई औपचारिक मान्यता दिएको थियो ।

त्यसैगरी सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलनले सन् २००५ मा संयुक्त राष्ट्रसङ्घीय महासभालाई मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ घोषणा गर्न आग्रह गरेको थियो । त्यसपछि महासभाले सन् २००६ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरबारे चेतना फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सिर्जना गर्नु हो ।

Facebook Comments Box