थारु बस्तीमा बढ्यो माघीको चहलपल

कञ्चनपुर, २६ पुस – थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका थारु बस्तीहरूमा चहलपहल बढ्दै गएको छ । माघीको आगमनसँगै गाउँ–गाउँमा बिहानदेखि साँझसम्म चहलपहल देखिन थालेको छ । पुरुष र महिला दुवै पर्वको तयारीमा व्यस्त छन् । कोही दाउरा जोहोमा छन् भने कोही वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् ।

महिलाहरू घरआँगनमै बसेर पातका दुना–टपरी बनाउन व्यस्त देखिन्छन् । “माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने चलन छ,” कृष्णपुर नगरपालिका–२ की दुर्गा चौधरीले भन्नुभयो, “यसले थारु समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँछ ।”

माघी पर्वमा थारु समुदायका मौलिक परिकार विशेष स्थानमा रहने गर्छन् । ढिक्री, अनदीको भात, सुँगुरको मासु र जाँड माघीमा अनिवार्य मानिन्छन् । “माघीका लागि महिलाहरू अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्,” शुक्लाफाँटा नगरपालिका–२ का पूर्व बरघर भरतबहादुर चौधरीले भन्नुभयो, “घरका पुरुषहरू सुँगुरको जोहोमा लागेका छौँ ।” उहाँका अनुसार केही परिवार नदी, खोला र पोखरीमा माछा मार्ने काममा समेत जुटेका छन् ।

साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल गुन्जिन थालेको छ । “मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण जीवन्त बनेको छ,” शुक्लाफाँटा नगरपालिका–७ का कालुराम डगौराले भन्नुभयो, “युवायुवतीहरू नृत्य अभ्यासमा छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसेका देखिन्छन् ।”

माघी पर्वमा विवाहित चेलीबेटीलाई माइती बोलाउने चलनअनुसार उनीहरूलाई निम्ता दिन थालिएको छ । पर्वको स्वागतमा कच्ची घरहरू लिपपोत गरिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन् । आँगन, गोठघर र बाटोघाटो सफा गरिएको छ । गाउँका साझास्थल, मन्दिर तथा सार्वजनिक क्षेत्रहरूमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका–३ का बरघर राजु चौधरीले जानकारी दिनुभयो ।

कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ । माघीलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ । “पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, सम्बन्ध सुधार्ने र नयाँ वर्ष सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारु समाजमा गहिरो छ,” जोनापुर गाउँका बरघर सुरेश चौधरीले भन्नुभयो ।

थारु समुदायमा माघी केवल खानपान र मनोरञ्जनमा सीमित नभई पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीक मानिन्छ । माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मार्फत वर्षभरको आय–व्यय समीक्षा गरिनुका साथै आगामी वर्षका लागि भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिने परम्परा रहेको छ ।

Facebook Comments Box