देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं,  ३ जेठ – देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।

मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ । यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ । आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ ।

बाँकी पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । राति कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box