अक्षय तृतीया आज: सातु र सर्वत खाएर मनाइँदै
काठमाडौं, ७ वैशाख – आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। उष्ण गर्मीको समयमा शीतलता दिने परम्परागत आहारका रूपमा जौको सातु र सर्वत पानी खाएर यो पर्व मनाउने गरिन्छ।पञ्चाङ्ग निर्णायक समिति का अनुसार यही दिनदेखि त्रेता युगको सुरुआत भएको मानिन्छ। साथै, यही दिन परशुराम को जन्म भएकाले यसलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ।
धार्मिक मान्यताअनुसार यही दिन शिव र पार्वती को विवाह भएको विश्वास गरिन्छ। त्यसैले यस दिन स्नान, दान र अन्य शुभ कर्मलाई विशेष महत्व दिइन्छ। ज्योतिषीय मान्यताअनुसार अक्षय तृतीयाका दिन सूर्य र चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले पञ्चाङ्ग नहेरी पनि शुभकार्य गर्न सकिने विश्वास छ।
विवाह, गृहप्रवेश, नयाँ व्यापार सुरु, सुन तथा सवारी साधन खरिदजस्ता कार्यका लागि यो दिन अत्यन्त शुभ मानिन्छ। “अक्षय” शब्दको अर्थ कहिल्यै नाश नहुने भएकाले यस दिन गरिएको दान–पुण्यको फल पनि अक्षय हुने धार्मिक विश्वास छ। साथै वैशाख महिनालाई विष्णु को महिना मानिने भएकाले यस समयमा भक्तिभावले पूजा–अर्चना गर्नु विशेष फलदायी ठानिन्छ।

