लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौँ, ६ चैत – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैंककबाट नेपाल एयरलाइन्स को विमानमार्फत आएका एक भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल को आगमन कक्षबाट पक्राउ गरिएको हो।

यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना तथा नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक जना, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना र पोखरा–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको छ।

बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही क्षेत्रको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर–१२ बाट एक जना तथा दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

Facebook Comments Box