हुरीका कारण चितवनमा केराखेतीमा ठूलो क्षति

चितवन, ६ चैत – यही चैत २ गते आएको हुरीका कारण चितवनमा केराखेतीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक तथ्याङ्कअनुसार रु चार करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म प्रभावित क्षेत्रको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा २० वटा फार्ममा क्षतिको अवस्था अध्ययन गरिएको उनले जानकारी दिए।

हुरीका कारण भरतपुर महानगरपालिका–७ र २३, रत्ननगर नगरपालिका–५, १२ र १४, खैरहनी नगरपालिका–१३ तथा कालिका नगरपालिका–२ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पुगेको छ। बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको पाइएको छ।

रेग्मीका अनुसार समग्रमा ४३ दशमलव ३५ प्रतिशत केराखेतीमा क्षति पुगेको छ। मालभोग केरामा ७८ प्रतिशत र जी–नाइन जातमा २२ प्रतिशत क्षति भएको छ। एउटा फार्ममा मात्रै ८८ प्रतिशतसम्म क्षति भएको देखिएको उनले बताए।

केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले बिमा प्रक्रिया ढिलो हुने र क्षतिपूर्ति समयमा नपाउँदा किसान थप मर्कामा परेको बताए। गत वर्षको क्षतिपूर्ति समेत हालसम्म नपाएको भन्दै किसान निराश बनेका छन्। हालसम्म करिब रु चार करोड बराबरको क्षतिपूर्ति माग गर्दै किसानले बिमा कम्पनीमा निवेदन दिएका छन्।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले मालभोग केरामा विशेषगरी ठूलो क्षति पुगेको बताए। जिल्लामा करिब दुई हजार हेक्टर क्षेत्रमा व्यावसायिक केराखेती हुँदै आएको छ भने ७०० किसान यस पेशामा संलग्न छन्।

रत्ननगर–११ का किसान बाबुराम भट्टले छ बिघा जमिनमा लगाएको केरा हुरीले ढालिदिएको बताए। उत्पादन लिने बेलामा आएको हुरीले ठूलो नोक्सानी पुर्‍याएको भन्दै उनले अहिले बगान सरसफाइका लागि अतिरिक्त खर्च गर्नुपरेको बताए। कार्यालयका अनुसार जिल्लामा प्रतिहेक्टर मालभोग केरा २४ टन र जी–नाइन केरा ५५ टनसम्म उत्पादन हुँदै आएको छ।

Facebook Comments Box