मादुरो पक्राउ गरिएको दाबीपछि ट्रम्पद्वारा तस्बिर सार्वजनिक
काठमाडौँ, २० पुस – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गर्दै उनको तस्बिर सार्वजनिक गरेका छन्। नेपाली समयअनुसार गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरोको तस्बिर सार्वजनिक गरेका हुन्। तस्बिरमा मादुरो आँखामा मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएको देखिन्छ।
तस्बिरसँगै ट्रम्पले ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा’ भनेर क्याप्सन लेखेका छन्। मादुरोकी पत्नी पनि पक्राउ गरिएको भनिए पनि सार्वजनिक तस्बिरमा उनी देखिएकी छैनन्। घटनापछि ट्रम्पले फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण हस्तान्तरण नभएसम्म भेनेजुएला अमेरिकाले चलाउने’ दाबी गरेका छन्। उनले अमेरिकी सेनाको अपरेसन सफल भएको पनि बताएका छन्।
यसैबीच अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले सामाजिक सञ्जाल एक्समा मादुरोविरुद्ध लागुऔषध र हतियार तस्करीसम्बन्धी अभियोग लगाइने घोषणा गरेकी छन्।
तर भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण तत्काल सार्वजनिक गर्न माग गरेकी छन्।
अमेरिकाले भेनेजुएलामा गरेको भनिएको सैन्य कारबाही र मादुरोको पक्राउबारे हालसम्म संयुक्त राष्ट्रसंघ वा अन्य स्वतन्त्र अन्तर्राष्ट्रिय निकायबाट आधिकारिक पुष्टि भएको छैन।

