पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ, २८ फागुन – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश पहाडी र हिमाली भू–भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका पहाडी भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ । मधेश प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box