निर्वाचनमा खटिएका प्रहरीको बिदाइ बिहीबार
काठमाडौँ, २५ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ।
यही फागुन २१ गते सम्पन्न निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो।
मतदानदेखि मतगणनाको चरणसम्म प्रभावकारी सुरक्षा व्यवस्था गरिएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको महानिरीक्षक कार्कीले बताउनुभयो। निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीपूर्वक आफ्नो कार्यसम्पादन गरेको उहाँको भनाइ छ।

