गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारीलाई कामपाको आग्रह
काठमाडौँ, २५ फागुन – काठमाडौँ महानगरपालिका ले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ। केही सहकारी संस्थाले विदेशी नागरिकलाई सदस्य बनाएर आर्थिक कारोबार गरेको गुनासो आएपछि महानगरले यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो।
महानगरको सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्ले का अनुसार गैरनेपाली नागरिकलाई सहकारी संस्थाको सदस्य बनाउने कार्य कानुनविपरीत रहेको छ। उनले सहकारी संस्थालाई प्रचलित नियमअनुसार मात्र आर्थिक कारोबार गर्न आग्रह गरेका छन्।
उनका अनुसार महानगरको निर्देशन अवज्ञा गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने तयारी रहेको छ। सहकारी ऐन, २०७४ को दफा ३० तथा काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य बन्न सक्ने स्पष्ट व्यवस्था रहेको काफ्लेले जानकारी दिए।

