काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

काठमाडौँ, २७ मङ्सिर – काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार भएको एलिमिनेटरमा लुम्बिनीले काठमाडौँलाई ४ विकेटले हराउँदै प्लेअफ यात्रा जारी राख्यो।

काठमाडौँले दिएको ११२ रनको साधारण लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अघिल्लो सिजन नेट रनरेटका कारण प्लेअफबाट वञ्चित भएको काठमाडौँ यसपटक तेस्रो स्थानमा उक्लिएर एलिमिनेटरसम्म पुगे पनि लुम्बिनीविरुद्ध जीत निकाल्न सकेन।

टस जितेर ब्याटिङ रोजेको काठमाडौँको निर्णय सफल हुन पाएन। शीर्षक्रम नै पावर–प्लेमा धरासयी भएपछि टोली दबाबमा पर्‍यो। ६ विकेट छिट्टै गुमाएपछि काठमाडौँले रन जोड्न संघर्ष गर्‍यो।

सन्तोष यादवले सर्वाधिक २३ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनी रनआउट हुँदा काठमाडौँ ११२ रनमै सीमित भयो। झिनो लक्ष्य पाएको लुम्बिनीले खेल सहज रूपमा अघि बढायो।

काठमाडौँले दोस्रो इनिङ्समा पनि कडाइपूर्वक बलिङ र फिल्डिङ गर्न नसक्दा एलिमिनेटरबाटै बाहिरिनु नै पर्यो। लगातार उत्कृष्ट पुनरागमन गर्दै आएको लुम्बिनीले भने दोस्रो क्वालिफायरमा स्थान बनाउँदै उपाधिको दौडमा टिकिरहन सफल भएको छ।

Facebook Comments Box