कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

कञ्चनपुर, १० कात्तिक – कञ्चनपुर जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये हालसम्म ३८८ जना फिर्ता भएका छन्। फिर्ता हुनेहरूमा ३७१ पुरुष र १७ महिला रहेका छन्।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार, तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार छन्। फरारमध्ये १७ जना महिला कैदीसमेत छन्।

जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ जनालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो। कारागारमा अहिले १४ जना भारतीय नागरिक पनि कैद सजाय भोगिरहेका छन् भने १७ जना भारतीय कैदी अझै फरार छन्।

स्वेच्छिक रूपमा तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ।

जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी रूपमा कसुरदार ठहराइने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइनेछ।

पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि केही कैदी सम्पर्कमा नआएकाले प्रहरीको खोजी तथा पक्राउ अभियान तीव्र बनाइएको बताइएको छ।

Facebook Comments Box