खोटाङमा ११२ आयोजनाका लागि ठेक्का आह्वान
खोटाङ, ९ पुस – भौतिक पूर्वाधार विकास कार्यालयले खोटाङमा ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ। कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत रु ६६ करोड बराबरका १२३ आयोजनामध्ये अधिकांशको ठेक्का प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालका अनुसार “जग्गाको स्वामित्व नरहेको वा स्थानीय विवाद रहेको केही आयोजनाको ठेक्का आह्वान अझै बाँकी छ। ती आयोजनाको पनि चाँडै प्रक्रिया अगाडि बढाइनेछ,” उहाँले बताउनुभयो।
दश स्थानीय तह रहेको खोटाङमा चालु आवको लागि प्रदेश सरकारबाट स्वीकृत कुल १६४ आयोजनामा सडक कालोपत्र, सडक स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय र विद्यालय भवन निर्माणजस्ता कार्य समावेश छन्।
साथै, बहुवर्षीय आयोजनाका लागि २४ प्रस्ताव पेस गरिएको छ भने १० आयोजनामा चालु अवस्था नै बहुवर्षीय परियोजना अनुसार सञ्चालन भइरहेको छ। ठेक्का आह्वान भएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ। गत कात्तिक २ देखि पुस ३ भित्र ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सक्रिय भएका र सम्झौता प्रक्रियामा तीव्रता आएको कार्यालयले जनाएको छ।
कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य भूपेन्द्र राईले सम्हालेपछि जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै बजेट विनियोजन भएको छ। मन्त्री राईले १६४ आयोजना सबै स्थानीय तह समेटेर बजेट विनियोजन गर्नुले खोटाङवासीमा खुसी र सकारात्मक प्रतिक्रिया सिर्जना गरेको बताइएको छ।
सामाजिक सञ्जालमा पनि बजेट र आयोजनाको पारदर्शी तथा गुणस्तरीय कार्यान्वयनको सुझाव दिइरहेका छन्। भौतिक पूर्वाधार मन्त्रालयको सार्वजनिक ‘रातो किताब’ अनुसार जिल्लामा सबैभन्दा बढी रु १० करोड रसुवाघाट–पाँचधारे सडक निर्माणमा विनियोजन भएको छ।

