तराईमा हुस्सु–कुहिरो र शीतलहरः प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल
काठमाडौँ, ९ पुस – विगत केही दिनदेखि तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो।
शीतलहर प्रतिकार्य योजना कार्यान्वयनका लागि प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी संघीय, प्रदेश र स्थानीय तहमा पठाइसकेको जनाएको छ। प्राधिकरणका अनुसार विशेष गरी गरिब र विपन्न वर्गका नागरिक शीतलहरबाट बढी प्रभावित हुने भएकाले आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न आवश्यक छ।
स्थानीय तहले वडा कार्यालय तथा समुदायमा आधारित संस्थासँग समन्वय गरी पूर्वतयारी र प्रतिकार्यका कार्यहरू अघि बढाउनुपर्नेछ। आवश्यक परे प्रदेश र संघीय सरकारसँग सहयोग माग्न पनि प्राधिकरणले सुझाव दिएको छ।
प्राधिकरणले जारी गरेको ६ बुँदे निर्देशन
-
न्यानो लुगा र उपकरण: न्यानो लुगा र तातो बनाउने उपकरण तयारी अवस्थामा राखेर संकटमा परेको परिवारलाई वितरण।
-
सूचना र पूर्वानुमान: जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आवश्यक कदम चाल्ने।
-
सचेतना कार्यक्रम: स्थानीय तहको समन्वयमा शीतलहरबाट बच्ने उपायबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन।
-
सार्वजनिक आश्रयस्थल: जोखिममा रहेका व्यक्तिका लागि सार्वजनिक भवन, मठमन्दिर वा घरमा न्यानो बस्ने व्यवस्था मिलाउने।
-
दाउराको व्यवस्था: अन्य विकल्प नभएका ठाउँमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी दाउरा उपलब्ध गराउने।
-
सञ्चार माध्यमको प्रयोग: शीतलहर सम्बन्धी सचेतनामूलक सामग्रीहरू विभिन्न सञ्चार माध्यमबाट समुदायसम्म पुर्याउने।
प्राधिकरणले चेतावनी दिँदै तराई र भित्री मधेसका जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भइरहेका, सडक र हवाई यातायातमा अवरोध हुनसक्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

