राखेपले एन्फा माथि लगाएको निलम्बन निःशर्त रूपमा फुकुवा गर्‍यो

काठमाडौं, १ जेठ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन निःशर्त रूपमा फुकुवा गरेको छ।

शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग एन्फाका महासचिव किरण राईलगायत पदाधिकारीको भेटपछि राखेपले निलम्बन हटाउने निर्णय गरेको हो।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार सरकारले एन्फालाई विश्वासका साथ राम्रोसँग काम गर्न आग्रह गर्दै निलम्बन फुकुवा गरेको हो। राखेपले गत चैत ११ गते एन्फालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले वैशाख २१ गतेभित्र निलम्बन फुकुवा गर्न राखेपलाई समयसीमा दिएका थिए। वैशाख ९ गते नै दुवै संस्थाले निर्णय फिर्ता लिन आग्रह गरेका थिए।

एन्फाले समयअघि नै निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपसँग विवाद उत्पन्न भएको थियो। राखेपले निर्वाचन रोक्न पटक–पटक पत्राचार गरे पनि एन्फाले साधारणसभा र निर्वाचन प्रक्रिया जारी राखेको थियो।

फिफा र एएफसीले सरकारी हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट गर्दै राखेपलाई पत्र पठाएका थिए। त्यसपछि राखेपले पनि आफ्नो धारणा दुवै निकायलाई पठाएको थियो।

राखेपका अनुसार विधान र परम्पराअनुसार जिल्ला तथा प्रदेश तहको निर्वाचन सम्पन्न भएपछि मात्र केन्द्रीय नेतृत्व चयन हुनुपर्ने व्यवस्था छ। तर वर्तमान एन्फा नेतृत्वले त्यस प्रक्रिया उल्लंघन गर्न खोजेको आरोप राखेपले लगाएको थियो।

राखेप र एन्फाबीचको विवादले घरेलु फुटबल गतिविधि प्रभावित हुनुका साथै नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा परेको थियो। अन्ततः राखेपले आफ्नो निर्णय फिर्ता लिँदै एन्फामाथिको निलम्बन हटाएको हो।

Facebook Comments Box