अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
भोजपुर, ६ पुस – यस वर्ष अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादन घटेको छ। समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाका कारण धानबाली डुबानमा परेर नष्ट भएको हो। “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्,” उहाँले भन्नुभयो।
केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन मात्र उत्पादन भएको छ। यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती विस्तार भएको छ।
बेमौसमी वर्षाका कारण जिल्लामा करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ। जिल्लाभर करिब ९६ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो। जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुँदै आएको छ। कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आए पनि यस वर्ष मौसम प्रतिकूल हुँदा अपेक्षित उत्पादन हुन नसकेको किसानहरूको भनाइ छ।

