निर्मला हत्या प्रकरणका सात वर्ष पूरा : अपराधी अझै अज्ञात

कञ्चनपुर, ११ साउन — कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सात वर्ष पूरा भएको छ, तर घटना अहिलेसम्म अनुसन्धानमै सीमित छ। अपराधी को हो भन्ने प्रश्नको उत्तर अझै अपुष्ट छ।

वि.सं. २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव भोलिपल्ट साउन ११ गते घरनजिकैको उखुबारीमा फेला परेको थियो। निर्मम घटनाले तत्काल देशभर आक्रोश फैलियो। पीडितलाई न्याय दिलाउन देशव्यापी आन्दोलनहरु भए। सरकारले उच्चस्तरीय छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोग र विभिन्न प्रहरी टोलीसमेत गठन गर्‍यो। तर सात वर्ष बितिसक्दा पनि निष्कर्षमा पुग्न सकिएको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले घटना अझै पनि प्रहरी अनुसन्धानको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँका अनुसार, “हालसम्म एक सय २४ जनाको डिएनए परीक्षण गरिएको छ भने छ सय ५५ जनालाई सोधपुछ गरिसकिएको छ। सिआइबीबाट १० वटा छुट्टाछुट्टै टोलीले अनुसन्धान गरिसकेका छन्, अहिले पनि अनुसन्धान जारी नै छ।”

घटनापछि २०७५ भदौ ४ गते प्रहरीले भीमदत्त नगरपालिका–१९ का दिलीपसिंह विष्टलाई सार्वजनिक अभियुक्तको रूपमा पेस गरेको थियो। तर उनी मानसिक रोगी भएको र फसाइएको आरोप लागेपछि आन्दोलनले उग्र रूप लियो। पछि सरकारी वकिलको कार्यालयबाट विष्ट रिहा भए।

पछिल्लो सात वर्षमा यो प्रकरणमा सबैभन्दा बढी स्रोत, ध्यान र समय खर्चिए पनि पीडित परिवारले अझै न्याय पाएको छैन। निर्मला हत्या प्रकरण अझै नेपाली न्याय प्रणाली र प्रहरी अनुसन्धान क्षमतामाथिको प्रश्न बनेको छ। जनआवाज अझै उठिरहेको छ— “निर्मलालाई न्याय कहिले?”

Facebook Comments Box