दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर, ६ पुस – जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै क्रमशः सुगम बन्दै गएको छ। वर्षायाममा हिलोले हिँड्नै नसकिने र हिउँदमा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडक अब इतिहासका पानामा सीमित हुँदै गएका छन्।

पछिल्ला केही वर्षमा सडक पूर्वाधारमा भएको उल्लेखनीय सुधारले स्थानीयको जीवनस्तर मात्र होइन, समग्र गाउँको आर्थिक र सामाजिक मुहारमा समेत परिवर्तन ल्याएको छ। लालझाडी–४ कञ्जका स्थानीय बलराम राना पुराना दिन सम्झिँदै भन्नुहुन्छ, “वर्षा सुरु हुनेबित्तिकै बाहिरी संसारसँग सम्पर्क विच्छेद हुन्थ्यो। सडकमा गोडासम्म डुब्ने हिलो हुन्थ्यो। बिरामी परे एम्बुलेन्स आउनु त टाढाको कुरा, मान्छेले बोकेर लैजानसमेत बाटो हुँदैनथ्यो।”

हिउँदमा कच्ची सडकमा सवारी गुड्दा उड्ने धुलोले सडकछेउका घर र खेतीपाती ढाकिन्थे, जसका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या सामान्य जस्तै थियो। खोलामा पुल नहुँदा काठको डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्नु स्थानीयको बाध्यता थियो।

तर, जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउनुहुन्छ। “पहिले नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य गर्‍यो,” उहाँले भन्नुभयो, “पछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावत झनै सहज भयो। अहिलेको लालझाडी पहिलेभन्दा पूरै फरक छ।”

आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा स्थानीय महेश्वरी राना चकित हुनुहुन्छ। “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि हाम्रै घरअगाडि यति चिल्लो बाटो बन्ला,” उहाँले भन्नुभयो, “सङ्घीयता र स्थानीय सरकार आएपछि सडकलाई प्राथमिकतामा राखेर काम भएकै कारण आज यो सम्भव भएको हो।”

अहिले लालझाडीका प्रमुख प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल विस्तार हुँदैछ। धुलो र हिलोको सास्ती खेप्नुपर्ने दिन अब सम्झनामा मात्र सीमित भएको अर्का स्थानीय रामप्यारा चौधरीको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको काम अघि बढाइएको छ। हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो।

गाउँपालिका, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारको सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ का रणनीतिक महत्वका सडक कालोपत्र गरिएको छ। गाउँपालिका अध्यक्ष विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत छवटै वडामा सडक स्तरोन्नति तथा कालोपत्रको काम जारी रहेको सार्कीले बताउनुभयो।

गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया सुरु गरेको छ। “चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडिबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्दैछौँ,” उहाँले भन्नुभयो। कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी बनेको र अस्पताल सञ्चालनको तयारीमा रहेको उहाँको भनाइ छ।

पूर्वाधार विकासअन्तर्गत दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन्। यसैगरी जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ। यी पुलले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएका छन्।

सडक र पुल निर्माणले किसानलाई पनि ठूलो राहत मिलेको छ। सडक बनेपछि उखु र तरकारीजस्ता कृषि उपज खेतबाटै सिधै चिनी मिल र बजारसम्म पुर्‍याउन सकिने भएकाले बिचौलियाको प्रभाव घटेको छ। साथै, एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका भित्री बस्तीसम्म पुग्न थालेका छन्। सडकछेउ नयाँ पसल, बजार र साना उद्योग खुल्दै जाँदा स्थानीय युवा गाउँमै स्वरोजगार बन्न थालेका छन्।

Facebook Comments Box