सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

सुनसरी, ६ पुस – गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा, पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइँदैछ।

धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार गत वर्षको तुलनामा यस वर्ष कात्तिक–मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला बजारमा भित्रिएको छ। उहाँका अनुसार सुन्तलाको कारोबार पनि करिब ३० प्रतिशतले वृद्धि भएको छ। अहिले सुन्तलाको बिक्री राम्रो भइरहेकाले किसान र उपभोक्ता दुवैका लागि सकारात्मक अवस्था बनेको अध्यक्ष भट्टराईले बताउनुभयो।

पछिल्लो समय सुन्तलाखेतीको क्षेत्र विस्तार भएकाले पनि कारोबार बढेको उहाँको भनाइ छ। कात्तिक १५ गतेदेखि बजारमा आउन सुरु भएको सुन्तला चैतको दोस्रो सातासम्म उपलब्ध हुने गर्दछ। “ढुवानी व्यवस्थित गर्न, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ गर्न सके कोशी करिडोरको स्वादिलो सुन्तलाको बजार अझ प्रभावकारी रूपमा विस्तार गर्न सकिन्थ्यो,” उहाँले भन्नुभयो।

भोजपुरका किसान प्रदीप राईका अनुसार उनी प्रत्येक वर्ष २० देखि ३० मेट्रिक टनसम्म सुन्तला बिक्री गर्दै आएका छन्। “गत वर्ष भने १६ मेट्रिक टन मात्रै उत्पादन भयो, तर यस वर्ष दुई महिनाकै अवधिमा १२ मेट्रिक टनभन्दा बढी सुन्तला बिक्री भइसकेको छ,” उहाँले भन्नुभयो। उत्पादन राम्रो भएकाले मूल्य यथावत रहे पनि यस वर्ष आम्दानी बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो। राई विगत १३ वर्षदेखि सुन्तला व्यवसायमा संलग्न हुनुहुन्छ।

व्यापारी अशोक राईका अनुसार फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले यस वर्ष उत्पादनमा उल्लेख्य वृद्धि भएको हो। “वर्षा भए पनि खासै क्षति भएन, रोग र कीराको प्रकोप पनि कमै देखियो,” उहाँले भन्नुभयो। पछिल्लो समय मकै र धानखेती हुने खेतबारीमा समेत सुन्तलाखेती विस्तार हुन थालेको उहाँको भनाइ छ।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसप्रति थप आकर्षित भएका छन्। पछिल्ला चार वर्षदेखि मूल्य भने झन्डै यथावत रहेको र हाल आकारअनुसार प्रतिकिलो ३० देखि ८० रुपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो।

विगत २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आउनुभएका व्यापारी टीकाराम श्रेष्ठका अनुसार उहाँले वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला बिक्री गर्दै आउनुभएको छ। धरानबाट दमक, काकरभिट्टा, झापा तथा पश्चिमी क्षेत्रसम्म सुन्तला पठाइने गरेको उहाँले बताउनुभयो। “सुन्तला एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्रकृतिको हुन्छ, त्यसैले यस वर्ष उत्पादन बढेको हो,” उहाँले भन्नुभयो।

धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष बजारमा सुन्तला प्रशस्त मात्रामा आएको छ। किसान र व्यापारीले ल्याएको सुन्तला सहज रूपमा बिक्री भइरहेको र आएको सबै सुन्तला खपत हुने गरेको उहाँले बताउनुभयो।

हाल धरान कृषि उपज बजारबाट दैनिक ३० देखि ४० मेट्रिक टन सुन्तलाको कारोबार भइरहेको छ। बजारमा अहिले प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको छ। मौसमअनुसार मूल्यमा उतारचढाव हुने भएकाले प्रतिकिलो ७० देखि १३० रुपैयाँसम्ममा पनि बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्।

धरान कृषि उपज बजारको तथ्याङ्कअनुसार गत वर्ष करिब पाँच हजार मेट्रिक टन सुन्तलाको खरिद–बिक्री हुँदा करिब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने धरान कृषि बजारबाट करिब २० हजार मेट्रिक टन सुन्तला बिक्री हुने अनुमान गरिएको छ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङलगायत जिल्लाबाट सुन्तला धरान ल्याइने गरिएको छ। धरानबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक तथा मधेस प्रदेशका विभिन्न जिल्लामा सुन्तला बिक्रीका लागि पठाइने गरिएको व्यापारीहरूले बताएका छन्।

Facebook Comments Box