हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत
खोटाङ, २९ मङ्सिर – हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले किसानलाई आर्थिक प्रोत्साहन दिन थालेको हो ।
नगरपालिकाका अनुसार न्यूनतम पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा पाँच मुरीभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गरिँदै आएको छ । नगरप्रवक्ता कमल गिरीका अनुसार यस वर्ष नगरपालिकाभर तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ ।
“बदामखेतीलाई प्रोत्साहन गर्न किसानलाई निवेदन दिन आग्रह गरेका छौँ,” उहाँले भन्नुभयो, “निवेदनका आधारमा कृषि शाखाका कर्मचारीले स्थलमै पुगेर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिरहेका छौँ ।”
पहिलो चरणमा वडा नं ५ दुर्छिम, वडा नं ७ महादेवस्थान र वडा नं ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर प्रोत्साहन रकम वितरण गरिएको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमकै अवसरमा आइतबार दुर्छिमका १३ किसानलाई रु ६२ हजार २००, महादेवस्थानका ४३ किसानलाई रु दुई लाख ३२ हजार ३०० तथा धितुङका १५८ किसानलाई रु सात लाख १० हजार ६०० वितरण गरिएको कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाको कार्यालय टाढा पर्ने वडा नं २ डिकुवा र वडा नं ११ राजापानीका किसानलाई भने वडा कार्यालयमार्फत प्रोत्साहन रकम वितरण गर्ने योजना बनाइएको छ । नगरपालिकाका अनुसार डिकुवाका २४ किसानले २६० मुरी र राजापानीका २४ किसानले २३१ मुरी बदाम उत्पादन गरेका छन् । कृषि शाखाका अनुसार डिकुवाका किसानले रु एक लाख दुई हजार तथा राजापानीका किसानले रु ९३ हजार ३०० प्रोत्साहन रकम प्राप्त गर्नेछन् ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा मात्र उत्पादन हुने बदामखेती प्रवर्द्धन गर्न नगरपालिकाले गत वर्षदेखि प्रोत्साहन रकम वितरण कार्यक्रम सुरु गरेको हो । परम्परागत (रैथाने) बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष सबैभन्दा बढी बदाम उत्पादन गर्ने किसानमा वडा नं ८ धितुङका गोपाल बुढाथोकी पर्नुभएको छ । उहाँले यस वर्ष ४१ मुरी बदाम उत्पादन गर्नुभएको जनाइएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष बदाम उत्पादन ४६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख विमला राईका अनुसार बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्रान्डिङसहित बजारमा बिक्री गर्ने दीर्घकालीन योजना नगरपालिकाको छ ।
“बदाम बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गरिरहेका छन्,” उहाँले भन्नुभयो, “तर किसानले उत्पादन गरेका बदाम ठेकेदारले सस्तोमा खरिद गरेर अन्यत्र लैजाने समस्या छ । त्यसलाई रोक्दै किसानलाई प्रोत्साहन र बदामको ब्रान्डिङमार्फत मूल्य वृद्धि गर्ने योजना बनाएका छौँ ।”
नगरपालिकाका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरी हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला, बराहपोखरी मेला, छिमेकी जिल्ला ओखलढुङ्गालगायतका स्थानमा बिक्रीका लागि लैजाने गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदामखेती हुने गरेको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रूपमा समेत प्रयोग हुने गरेको व्यवसायीहरूले बताएका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी दर्शन गर्न आउने भक्तजनले स्थानीय बदाम कोसेलीका रूपमा लैजाने गरेका छन् ।
नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजको प्रवर्द्धन तथा बजारीकरण गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्रसमेत सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । आयातित कृषि उपजलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने लक्ष्यसहित यो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

