केपी शर्मा ओलीले धम्की नदिन सभामुखलाई चेतावनी

काठमाडौं, २८ मंसिर – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन्। उनले संसदमा आफ्नो पार्टीका सांसदहरुले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताए।

अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराएका छन्। ‘फेयर गराउन हामी बाध्य गराउँछौँ। संसद पनि फेयरल्ली चलाउनुपर्छ। त्यसैले नियमावली आकर्षित हुन्छ वाह! संसदीय भाषा, नियमावली आकिर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छ?’, उनले भने, ‘त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ।

नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन। निकाल्छु भन्नेहरुलाई कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु। आवेग उत्तेजनामा नआउनुस्। परिणाम नराम्रो होला।’

अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदबाट निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराए।

Facebook Comments Box