महबाटै करोडको कारोबार गर्दै विनोद हमाल

कैलाली, २९ मङ्सिर – परिश्रम र लगनशीलता भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदननगरका विनोद हमाल । विगत दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक माहुरीपालन गर्दै आउनुभएका हमालले मह उत्पादनबाट बर्सेनि करोडौँ रुपैयाँको कारोबार गर्दै आउनुभएको छ । सफल व्यवसायी मात्र होइन, उहाँ धेरै युवाका लागि प्रेरणाका स्रोतसमेत बन्नुभएको छ ।

विसं २०५५ सालदेखि माहुरीपालन व्यवसाय सुरु गर्नुभएका हमालबाट सीप सिकेर दाङसहित विभिन्न जिल्लाका कैयौँ युवाहरू यो व्यवसायमा संलग्न भएका छन् । सुरुका दिनमा दाङमा १२–१५ जना मात्र माहुरीपालक किसान रहेको स्मरण गर्दै हमाल भन्नुहुन्छ, “अहिले दाङमा मात्रै चार–पाँच सय युवा माहुरीपालनमै भविष्य खोजिरहेका छन् । थोरै लगानीमा राम्रो आम्दानी हुने भएकाले युवाको आकर्षण बढ्दै गएको छ ।”

दाङदेखि कैलाली र बर्दियासम्म मौरीका घार बोकेर चरनका लागि हिँडिरहनु हमालको दैनिकी बनेको छ । हाल उहाँ कैलालीको भजनी नगरपालिकामा रहनुभएको छ । तोरी फुलेका खेतमा उहाँले कैलाली र बर्दियाका विभिन्न स्थानमा करिब पाँच सय मौरीका घार राख्नुभएको छ । “आजभोलि जहाँ तोरी फुल्छ, त्यतै मौरीका घार पुग्छन्,” उहाँ भन्नुहुन्छ, “तोरीको सिजन सकिएपछि फेरि अन्य फूल फुलेका क्षेत्रमा घार सारिन्छ ।”

हमालका अनुसार हरेक वर्ष तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ माहुरीपालक किसान कैलाली, बर्दिया, बाँके र आसपासका जिल्लामा मौरीका घार लिएर चरनमा जाने गर्छन् । उपयुक्त हावापानी र तोरी तथा मकैखेती प्रशस्त हुने भएकाले दाङमा माहुरीपालन व्यवसाय फस्टाएको उहाँको भनाइ छ । “तोरी र मकैको फूल माहुरीका लागि सबैभन्दा उपयुक्त चरन मानिन्छ,” उहाँले बताउनुभयो ।

‘स्वर्गद्वारी विकन्सर्न प्रालि’मार्फत व्यवसाय सञ्चालन गर्दै आउनुभएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने सयौँ किसान र व्यवसायी अप्रत्यक्ष रूपमा यस व्यवसायसँग जोडिएका छन् । उहाँका अनुसार वर्षमा करिब एक लाख केजीसम्म मह उत्पादन हुने गरेको छ । “हामी उत्पादनमा केन्द्रित छौँ,” उहाँ भन्नुहुन्छ, “मह न्यूनतम रु पाँच सय प्रतिकेजीभन्दा बढी मूल्यमा बिक्री हुन्छ । मूल्य फूलको स्रोतअनुसार फरक पर्छ ।”

माहुरीपालन व्यवसायमा बजारको समस्या नभएको हमाल बताउनुहुन्छ । हाल उत्पादनभन्दा माग बढी भएकाले सबै माग पूरा गर्न नसकिएको उहाँको भनाइ छ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट महको माग आउने गरेको र धेरै उत्पादन कम्पनीसम्म नपुग्दै बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँको परिवार नै यस व्यवसायमा सक्रिय छ ।

पैसा कमाउन विदेश जानैपर्ने मानसिकतालाई बदल्नुपर्ने हमालको सुझाव छ । “पैसा विदेशमा मात्र होइन, स्वदेशमै छ,” उहाँ भन्नुहुन्छ, “विदेशमा जस्तै परिश्रम स्वदेशमा गर्‍यौँ भने सम्भावनाको कमी छैन । व्यवसायमा इमानदारी र निरन्तरता भयो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ ।”

Facebook Comments Box