थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सुरु हुने
तनहुँ, २३ मङ्सिर – म्याग्दे गाउँपालिका–४ थर्पु अस्पतालमा आगामी पुस ३ गतेदेखि नियमित आँखा उपचार सेवा सञ्चालन हुने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल, घारीपाटनसँग औपचारिक सम्झौता गरेको हो।
आँखा उपचार सेवा नजिकै उपलब्ध गराउने उद्देश्यसहित गरिएको उक्त सम्झौतामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गर्नुभयो। सेवा सुरु भएपछि स्थानीयलाई दमौली वा खैरेनीटार पुगेर नेत्र परीक्षण गराउनुपर्ने बाध्यता अन्त्य हुनेछ।
सम्झौता अनुसार दैनिक रूपमा नेत्र प्राविधिकमार्फत थर्पु अस्पतालमै आँखा उपचार सेवा प्रदान गरिनेछ। सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा उपकरण अस्पतालले उपलब्ध गराउने छ भने उपचार केन्द्र तथा सहयोग म्याग्दे गाउँपालिकाले व्यहोर्ने छ। गाउँपालिकाले परीक्षण सेवा सञ्चालनका लागि हिमालय आँखा अस्पताललाई वार्षिक रु ६ लाख उपलब्ध गराउनेछ। उपचारबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानीमा जानेछ।
सेवा प्रभावकारी बनाउन ‘आँखा उपचार केन्द्र सहयोग समिति’ गठन गरिनेछ। समितिको संयोजक थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहनेछन् भने सह–संयोजक गाउँपालिकाले तोकेको एक समाजसेवी हुनेछन्। साथै वडाध्यक्ष, हिमालय आँखा अस्पतालका प्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि तथा थर्पु अस्पतालका प्रमुख सदस्यका रूपमा रहनेछन्।

